राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। नागरिकता किर्ते र लिखत सम्बन्धी कसुरमा पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराइएपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेर नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी रकम बुझाएपछि सिंह आजै रिहा हुनेछन्।
यसअघि मंगलबार बिहान पर्साको ठोरी गाउँपालिकास्थित एक रिसोर्टबाट पक्राउ परेका सिंहलाई प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेर अदालतमा बुझाएको थियो। प्रहरीका अनुसार अदालतले यसअघि नै नागरिकता र सरकारी कागजात किर्तेसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।
प्रहरी अनुसन्धानका क्रममा सिंह केही दिन भारतको हरिद्वारमा साधुको भेषमा लुकेर बसेको खुलेको छ। साधु पहिरनमा रहेको उनको तस्वीर सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो।
प्रहरी स्रोतका अनुसार उनका स्वकीय सचिव सत्यराज घिमिरे पक्राउ परेपछि प्राप्त सूचनाका आधारमा सिंहलाई ठोरीबाट नियन्त्रणमा लिइएको हो। घिमिरेलाई भने केही घण्टा हिरासतमा राखेर पछि रिहा गरिएको थियो।
मेयर सिंहमाथि रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप छ। सोही प्रकरणमा रिता भट्टराई र तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।
मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा हुने, हरिद्वारमा साधुको भेषमा लुकेको खुलासा
Leave a Comment
Leave a Comment






