काठमाडौं । साविक विजेता अष्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार बेलायतको द ओभलमा भएको पहिलो सेमिफाइनल खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि भिडन्त पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १२६ रनको लक्ष्य १३ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।
अष्ट्रेलियाका लागि बेथ मुनी र एश गार्डेनरले उत्कृष्ट प्रदर्शन गरे। सातौँ ओभरपछि मैदानमा जमेको यो जोडीले वेस्टइन्डिजका बलरमाथि दबाब सिर्जना गर्दै तेस्रो विकेटका लागि ३७ बलमा ६३ रनको अविजित साझेदारी गरे।
मुनीले ३६ बलमा ६१ रनको शानदार पारी खेलिन् भने गार्डेनरले २० बलमा ३५ रन जोडिन्। मुनीको यो टी–२० विश्वकपमा आठौँ अर्धशतक हो, जसले न्युजिल्यान्डकी सुजी बेट्सको कीर्तिमानसँग बराबरी गरेको छ।
महिला टी–२० विश्वकपका १० संस्करणमध्ये अष्ट्रेलिया आठौँ पटक फाइनल पुगेको हो। अपराजित यात्रामा रहेको अष्ट्रेलिया अब आइतबार लर्ड्समा हुने फाइनलमा सातौँ विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
अष्ट्रेलियाले उपाधिका लागि इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
वेस्टइन्डिजलाई पराजित गर्दै अष्ट्रेलिया महिला टी–२० विश्वकपको फाइनलमा
Leave a Comment
Leave a Comment






