काठमाडौं, जेठ २९ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले शानदार प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ।
ऐतिहासिक एज्टेका रंगशालामा भएको खेलमा मेक्सिकोले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। घरेलु समर्थकको उत्साहजनक साथ पाएको टोलीले नवौं मिनेटमै अग्रता बनाएको थियो। इरिक लिराको पासमा जुलियन क्विनोनेसले गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बन्ने अवसर पाए।
पहिलो हाफभरि मेक्सिकोले थप केही अवसर सिर्जना गरे पनि गोल संख्या बढाउन सकेन। क्विनोनेसको अर्को प्रयास गोलपोस्टमा लागेर फर्किएको थियो भने दक्षिण अफ्रिकाका गोलरक्षक रोनवेन विलियम्सले केही उत्कृष्ट बचाउ गरेका थिए।
दोस्रो हाफमा दक्षिण अफ्रिकाको चुनौती कमजोर बन्दै गयो। ५० औं मिनेटमा याया सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै मेक्सिकोले ६७ औं मिनेटमा अग्रता दोब्बर बनायो। रोबर्टो अल्भारडोको क्रसमाथि अनुभवी फरवार्ड राउल जिमेनेजले आकर्षक हेडमार्फत गोल गरेका थिए।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाले अर्को झड्का बेहोर्नुपर्यो। ८४ औं मिनेटमा थेम्बा ज्वानेले रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा झरेको थियो। भीएआरको समीक्षा पश्चात् रेफ्रीले उक्त निर्णय दिएका थिए।
इन्जुरी समयमा मेक्सिकाका सेजार मोन्टेज पनि रातो कार्डको भागीदार बने। उनले विपक्षीको स्पष्ट गोल अवसर रोक्ने प्रयास गर्दा मैदान छाड्नुपरेको थियो।
तीनवटा रातो कार्ड देखाइएको प्रतिस्पर्धात्मक खेलमा मेक्सिकोले उत्कृष्ट जित निकाल्दै घरेलु मैदानमा विश्वकप अभियान सुखद रूपमा सुरु गरेको छ। करिब ८० हजार दर्शक उपस्थित खेलमा मेक्सिकोको प्रदर्शनले उपाधि दाबेदारीको संकेतसमेत दिएको छ।
एज्टेकामा मेक्सिकोको दबदबा, विश्वकपको उद्घाटन खेलमै दक्षिण अफ्रिका स्तब्ध
Leave a Comment
Leave a Comment






