फिल्मी हिरोदेखि सत्ता यात्रासम्म : विजयले तमिलनाडुमा बनाए नयाँ राजनीतिक इतिहास

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

चेन्नई : दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता जोसेफ विजय चन्द्रशेखर (विजय) ले आफ्नो स्टारडमलाई राजनीतिक शक्तिमा बदल्दै तमिलनाडुमा ऐतिहासिक सफलता हासिल गरेका छन्। हालै सम्पन्न प्रादेशिक चुनावमा उनको पार्टी तमिलागा वेत्री कजागम (टीभीके) ले १०८ सिट जित्दै अप्रत्याशित उदय देखाएको हो।
बहुमत नपुगे पनि बाह्य समर्थन जुटाएर सरकार गठनतर्फ अघि बढेका विजयको उदयसँगै दशकौँदेखि सत्तामा पालैपालो हाबी हुँदै आएका द्रविड मुनेत्र कषगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कषगम (एआईएडीएमके) को वर्चस्वमा धक्का पुगेको छ।
विजयको राजनीतिक यात्रा फिल्मकै माध्यमबाट सुरु भएको मानिन्छ। सन् २०१३ मा आएको थलाइवा फिल्मपछि उनले व्यवस्थाविरोधी छवि बनाउँदै लोकप्रियता चुल्याए। उक्त फिल्ममाथि तत्कालीन मुख्यमन्त्री जे. जयललिता ले प्रतिबन्ध लगाएपछि उनी झन् चर्चामा आएका थिए।
त्यसपछि उनले आफ्ना हजारौँ फ्यान क्लबलाई संगठित गर्दै राजनीतिक आधार तयार गरे। २०२४ मा पार्टी घोषणा गरेसँगै ती फ्यानहरू कार्यकर्तामा रूपान्तरण भए, जसले गाउँ–टोलसम्म संगठन विस्तार गरिदियो।
तमिलनाडुमा फिल्म कलाकारको राजनीति पुरानो भए पनि विजयको उदय विशेष मानिएको छ। एम. जी. रामचन्द्रन र एम. करुणानिधि जस्ता नेताको बाटो पछ्याउँदै उनले वर्तमान मुख्यमन्त्री एम. के. स्टालिन लाई चुनौती दिएका छन्।
चुनावअघि उनको फिल्म जननायकन सेन्सर विवादमा परेर रोकिएको थियो। तर, यही विवादले उनलाई थप चर्चामा ल्यायो। चुनावी अभियानमा उनले आफूलाई अन्याय भएको भन्दै जनतासँग समर्थन मागे, जसले उनको पक्षमा माहोल बनाएको विश्लेषण गरिएको छ।
युवा मतदातामाझ बलियो पकड बनाएका विजयले अब आफ्नो राजनीतिक वाचा कार्यान्वयन गर्नुपर्ने चुनौती सामना गरिरहेका छन्। उनको यो सफलताले दक्षिण भारतीय राजनीतिमा नयाँ अध्याय सुरु भएको मानिएको छ।

Leave a Comment