काठमाडौं, जेठ ३० — अमेरिका र इरानबीच जारी तनाव र सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित महत्वपूर्ण कूटनीतिक सहमति अन्तिम चरणमा पुगेको छ। दुवै देश युद्ध पूर्ण रूपमा रोक्ने, होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा आपसी प्रतिबन्ध र सुरक्षा सम्बन्धी विवाद समाधान गर्ने विषयमा सहमतिनजिक पुगेका छन्।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वार्ता सकारात्मक निष्कर्षतर्फ अघि बढेको बताउँदै केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवै पक्षबीच महत्वपूर्ण सहमति भएको दाबी गर्दै इरानविरुद्धका केही सैन्य योजना रोकिएको बताएका छन्।
प्रस्तावित सम्झौताअनुसार इरानले होर्मुज जलमार्गमा निर्बाध आवागमन सुनिश्चित गर्नेछ भने अमेरिकाले इरानी जहाज र बन्दरगाहमाथि लगाइएका केही प्रतिबन्ध हटाउने तयारी गर्नेछ। साथै, आणविक कार्यक्रमका विषयमा पनि नयाँ समझदारी कायम गर्ने प्रयास भइरहेको जनाइएको छ।
सम्झौतापछि इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध क्रमशः खुकुलो बनाइने र अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय प्रणालीमा पुनः जोडिने वातावरण तयार गरिने बताइएको छ। इरानले क्षेत्रीय सशस्त्र समूहहरूलाई दिँदै आएको सहयोगको विषय पनि वार्ताको प्रमुख एजेन्डामा रहेको स्रोतहरूले जनाएका छन्।
यद्यपि सम्झौताका केही प्राविधिक र राजनीतिक पक्षमा अझै छलफल जारी रहेको छ। इरानी अधिकारीहरूले अधिकांश मुद्दामा सहमति जुटिसकेको उल्लेख गर्दै अन्तिम निर्णय चाँडै सार्वजनिक हुन सक्ने बताएका छन्।
यो सहमति कार्यान्वयनमा आएमा मध्यपूर्वमा लामो समयदेखि कायम तनाव कम हुने, विश्व ऊर्जा आपूर्तिमा स्थिरता आउने तथा अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ अध्याय शुरू हुने अपेक्षा गरिएको छ।
अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, युद्ध अन्त्यको सम्भावना बलियो
Leave a Comment
Leave a Comment






