ललितपुर, जेठ ३० — लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुरबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउका क्रममा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
विशेष सूचनाका आधारमा बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई निगरानीमा राखिएको थियो। शनिबार ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा उक्त कारलाई रोक्न खोज्दा चालकले गाडी नरोकी अघि बढाउन खोजेपछि प्रहरीले नियन्त्रणका लागि हवाई फायर गरेको थियो।
प्रहरीका अनुसार त्यसपछि कार रोकेर गरिएको खानतलासीका क्रममा डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल फेला परेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्यका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम पक्राउ परेका छन्।
उनीहरूको साथबाट बागमती प्रदेश ९२०१ नम्बरको कार, बा.५२ प.४५६७ नम्बरको मोटरसाइकल तथा पाँच वटा मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
हवाई फायरपछि ३० हजार ट्रामाडोलसहित तीन जना पक्राउ
Leave a Comment
Leave a Comment






