बारा, असोज २६ ।
बारा जिल्लाको देवताल गाउँपालिका अन्तर्गत रहेको श्री नेपाल रत्न माध्यमिक विद्यालय, पिप्राढी–३ का शिक्षक तथा विद्यालय कर्मचारीमाथि गाउँपालिकाले कारवाही गरेको छ।
विद्यालयले गाउँ कार्यपालिकाको कार्यालयलाई कुनै जानकारी नदिई आफ्नै मनपरी ढङ्गले विद्यार्थीहरूलाई विदा घोषणा गरी विद्यालय बन्द गरेको पाइएको गाउँपालिकाले जनाएको छ। मिति २०८२ असोज २६ गते विद्यालय बन्द रहेको र विद्यार्थीहरू विद्यालयको पोशाकमै स्थानीय सांस्कृतिक कार्यक्रममा सहभागी भएको जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको उपस्थितिमा विद्यालयमा छड्के अनुगमन गरिएको थियो।

अनुगमनपछि विद्यालयले नियम उल्लङ्घन गरेको ठहर गर्दै गाउँपालिकाले सो विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूको एक दिनको तलब तथा भत्ता कट्टा गर्ने निर्णय गरेको हो।
त्यससँगै विद्यालयका प्रधानाध्यापक गगनदेव सहनीलाई विद्यालय किन बन्द गरिएको भन्ने विषयमा २४ घण्टाभित्र शिक्षा शाखामा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शैक्षिक सत्रमा अनियमितता र मनपरी कार्य सह्य नहुने बताउँदै यस्ता घटना दोहोरिए कडा कदम चालिने चेतावनी समेत दिएको छ।



Leave a Reply