दाङ, जेठ ३१ — सडक किनारमा व्यापार गर्दै आएको एक स्थानीय महिलाको टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
घटना गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा शुक्रबार भएको हो। स्थानीय धनादेवी धामीले जीविकोपार्जनका लागि टेम्पोमा पानी, बिस्कुट, चाउचाउलगायत सामग्री बिक्री गर्दै आएकी थिइन्।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ। पीडित धनादेवी धामीले आफूले हारगुहार गर्दा पनि वन कर्मचारीले टेम्पो नछोडी भिरबाट धकेलेर खसालेको आरोप लगाएकी छन्। उनले आफू अन्यायमा परेको भन्दै न्यायको माग गरेकी छन्।
घटनापछि डिभिजन वन कार्यालयका प्रमुखसहित २० जना कर्मचारीले संयुक्त विज्ञप्ति जारी गर्दै टेम्पो जानाजान भिरबाट नखसालिएको दाबी गरेका छन्। विज्ञप्तिमा वन अतिक्रमण हटाउने क्रममा भिरालो भूभाग र असन्तुलनका कारण टेम्पो खस्न पुगेको उल्लेख गरिएको छ।
वन कार्यालयले उक्त टेम्पो प्रयोगयोग्य अवस्थामा नरहेको तथा लामो समयदेखि वन क्षेत्र अतिक्रमण गरेर व्यापार भइरहेको दाबी गरेको छ। कार्यालयका अनुसार अतिक्रमण हटाउन पटक–पटक निर्देशन दिइए पनि अटेर गरिएपछि बल प्रयोग गर्नुपरेको थियो।
यता पीडित पक्षले भने टेम्पो चल्ने अवस्थामै रहेको दाबी गरेको छ। धामी परिवारका अनुसार टेम्पो हालै खरिद गरिएको थियो र नियमित रूपमा प्रयोग हुँदै आएको थियो।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले दुवै पक्षबाट फरक–फरक दाबी आएकाले तथ्य बुझ्ने काम भइरहेको बताए। उनका अनुसार टेम्पोको अवस्था, घटनाको प्रकृति र कर्मचारीको भूमिकाबारे अनुसन्धान भइरहेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराले पीडित पक्षबाट उजुरीसहित जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनामा कसैले कानुन हातमा लिएको पाइए आवश्यक कारबाही गरिने बताए।
प्रहरीले पीडित, वन कर्मचारी तथा प्रत्यक्षदर्शीसँग सोधपुछ गरी घटनाको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
टेम्पो भिरबाट खसालिएको घटनामा वन कर्मचारीमाथि अनुसन्धान सुरु
Leave a Comment
Leave a Comment






