आत्मदाह प्रयासपछि गायिका नितु पौडेलको मृत्यु, परिवारले गायक बाबुल गिरीविरुद्ध दर्ता गर्‍यो जाहेरी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक ७ – आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत पौडेललाई शुक्रबार बिहान साढे ८ बजे चिकित्सकले मृत घोषित गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले पौडेलको मृत्यु भएको पुष्टि गर्दै घटना अनुसन्धानको क्रममा रहेको बताए।

गत शनिबार अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल छर्की आत्मदाहको प्रयास गरेकी थिइन्। आगो निभाउने क्रममा गायक गिरी पनि सामान्य रूपमा घाइते भएका थिए।

नितु पौडेल र गायक गिरीबीच करिब ८–९ वर्षदेखि प्रेम सम्बन्ध रहेको परिवारजनको दाबी छ। पौडेलको मृत्यु भएपछि उनका दाजु गणेश पौडेलले गायक गिरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दर्ता गर्न शुक्रबार प्रहरी वृत्त सिंहदरबार पुगेका छन्।

‘दुई जनामात्र भएको कोठामा मेरी बहिनी जल्नु आत्महत्या होइन, यो योजनाबद्ध हत्या हो,’ दाजु गणेशले भने। उनले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र शव पोस्टमार्टमका लागि पठाइएको जनाएको छ।

Leave a comment