सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।

संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन चैत २२ गतेका लागि तय गरेको छ। उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भएको हो र उम्मेदवारको अन्तिम सूची दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ। २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनका लागि प्रस्ताव प्रस्तुत गरिनेछ, जसलाई प्रस्तावकले पेश गर्ने र समर्थकले समर्थन गर्नेछन्। त्यसपछि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

रास्वपाले बिहीबार बसेको बैठकमार्फत अर्याललाई सभामुख पदका लागि अघि सार्ने निर्णय गरेको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेको र दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुख बन्ने लगभग निश्चित मानिएको छ। हाल सभामुखको पद रिक्त रहेकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन्।

Leave a Comment