चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफू र आफ्नो पार्टी कहिल्यै पछि नहट्ने बताएका छन्।
शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै लामिछानेले लोकतन्त्रसँगै पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पनि मजबुत बनाउनु आवश्यक रहेको बताए।
उनले पार्टीको आन्तरिक लोकतन्त्र, निष्ठा र मूल्य–मान्यतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। संस्थापक सभापतिको रूपमा आफूले आन्तरिक लोकतन्त्र मजबुत बनाउन कति भूमिका खेल्न सकेँ भन्ने विषयको मूल्यांकन गर्ने जिम्मेवारी पार्टीका नेताहरूमा रहेको उनको भनाइ थियो।
लामिछानेले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र विगतका परिवर्तनहरूलाई सम्मान गर्दै अगाडि बढ्ने बताए। देशमा भएका संघर्ष, त्याग र बलिदानकै आधारमा अहिलेको राजनीतिक अवस्था सम्भव भएको उनको भनाइ थियो।
“परिवर्तन र लोकतन्त्रका मूल्य–मान्यताबाट हामी कहिल्यै विमुख हुने छैनौँ,” उनले भने।
रास्वपाको आगामी महाधिवेशनको तयारी भइरहेका बेला लामिछानेको यस्तो भनाइ आएको हो। उनले पार्टीलाई अझ व्यवस्थित र लोकतान्त्रिक ढंगले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
लोकतन्त्र र आन्तरिक लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : रास्वपा सभापति लामिछाने
Leave a Comment
Leave a Comment






