मधेश प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार, पुस ४ मा मुख्यमन्त्रीले विश्वासको मत लिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२९ मंसिर ,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जनमत पार्टीबाहेक सातदलीय गठबन्धनका दलहरूबाट मन्त्रालयसहित एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल गठबन्धनमा रहेका सात दलबाट प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकले आगामी पुस ४ गते मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय समेत गरेको छ ।

यसअघि गत मंसिर १९ गते छ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ गते प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । प्रारम्भिक चरणमा उनले तीन दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए ।

जनमत पार्टीबाट महेशप्रसाद यादव अर्थमन्त्री बनेका छन् भने कांग्रेसका जङ्गीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो । मन्त्रालय भागबण्डामा सहमति नजुट्दा उनीहरू अहिलेसम्म बिना विभागीय रहेका छन् ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा हालका दुवै बिना विभागीय मन्त्रीलाई मन्त्रालय दिइनुका साथै अन्य दलबाट पनि मन्त्री नियुक्त गरी सरकारलाई पूर्णता दिने तयारी मुख्यमन्त्री यादवले गरेका छन् ।

Leave a Comment