काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ। ८० वर्षको उमेरमा उपचारका क्रममा आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो।
दमको समस्या बढेपछि अस्पताल भर्ना गरिएका खरेलको राति पौने १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल नेपाली कांग्रेसका पुराना र आदर्शवादी नेताका रूपमा चिनिन्थे। विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनले नेपाल विद्यार्थी संघको माध्यमबाट सक्रिय राजनीति थालेका थिए।
खरेलले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। कांग्रेस राजनीतिमा सक्रिय रहँदा उनले पटक–पटक गरी करिब ९ वर्ष जेल जीवन बिताएका थिए।
२०५६ सालमा संसद सदस्य निर्वाचित भएपछि खरेल शिक्षा राज्यमन्त्री बनेका थिए। पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।
शिक्षा राज्यमन्त्री रहेका बेला प्राथमिक शिक्षा परियोजना लागू गर्न, विद्यालयका भौतिक संरचना विकास गर्न र शिक्षक दरबन्दी विस्तारमा उनको भूमिका महत्वपूर्ण रहेको बताइन्छ।
कांग्रेसका संस्थापक नेताहरू B. P. Koirala, Krishna Prasad Bhattarai र Ganesh Man Singh लाई आदर्श मान्ने खरेल पार्टी नेतृत्वसँग नजिक रहेर काम गरेका थिए।
खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
उनको निधनप्रति कांग्रेस नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। पाँचखाल नगरपालिकाका प्रमुख तथा कांग्रेस काभ्रे क्षेत्र नम्बर २ का सभापति महेश खरेल उनका छोरा हुन्।
पूर्वमन्त्री तथा कांग्रेस नेता राजेन्द्र खरेलको निधन
Leave a Comment
Leave a Comment






