देशभरका नर्सहरू आन्दोलित, माग सुनुवाइ नभए कडा आन्दोलनको चेतावनी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ कात्तिक २०८२, काठमाडौं

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै देशभरका नर्सहरू शुक्रबार आन्दोलित भएका छन्। बिहान १० बजेदेखि १२ बजेसम्म अस्पताल–अस्पतालमा विरोध प्रदर्शन गर्दै नर्सहरूले स्वास्थ्यकर्मीका हक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

नर्सिङ संघ नेपालले अघि सारेको १५ बुँदे माग कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले देशभरका नर्सहरूले एकसाथ प्रदर्शन गरेका हुन्। उनीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन गरी न्यूनतम पारिश्रमिक सरकारी अस्पताल सरह कायम गर्नुपर्ने, अतिरिक्त कार्यवापत भत्ता दिनुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

सिभिल अस्पतालमा कार्यरत नर्स विमला पौडेलका अनुसार अहिलेको आन्दोलन श्रमिकका हैसियतमा हेरिँदै आएका दक्ष नर्सिङ जनशक्तिको सम्मानका लागि गरिएको हो। उनले भनिन्, “न्यायोचित पारिश्रमिक र पेशागत सम्मान नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।”

नर्सहरूले १८ कात्तिकसम्म पनि माग सुनुवाइ नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

नर्सिङ संघले भनेको छ, “श्रमको सम्मान र पेशागत सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन रोकिने छैन।”

प्रमुख मागहरू

स्वास्थ्य मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन

सबै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम

अतिरिक्त कार्यवापत भत्ता

ज्यालादारी प्रणालीको अन्त्य

तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी

Leave a comment