काठमाडौं, असार २३ — नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेसहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाएको हो।
अदालतका अनुसार टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई संगठित अपराध तथा राज्यविरुद्धको एकीकृत कसुरमा दोषी ठहर गरिएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भने ठगी तथा संगठित अपराधमा मतियार रहेको ठहर गरिएको छ।
त्यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई पनि संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको अदालतले जनाएको छ।
यस्तै टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई ठगी तथा संगठित अपराधमा मतियार रहेको ठहर गरिएको छ। टेकनाथ रिजालसहित केही प्रतिवादीलाई लिखत किर्ते कसुरमा समेत दोषी ठहर गरिएको छ।
दोषी ठहर भएका सबै प्रतिवादीको सजाय भने पछि छुट्टै इजलासबाट निर्धारण गरिने अदालतले जनाएको छ। यस मुद्दाका केही प्रतिवादी अझै फरार रहेका छन्।
उक्त मुद्दामा रामशरण केसी, टंककुमार गुरुङ, सञ्जीव रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई भने अदालतले सफाइ दिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा दायर भएको यो मुद्दा नेपालको पछिल्लो समयकै चर्चित आपराधिक प्रकरणमध्ये एक हो। अदालतको पछिल्लो फैसलासँगै दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण प्रक्रिया अब अगाडि बढ्नेछ।
रायमाझी र पूर्वसचिव पाण्डेसहित २३ जना दोषी, ७ जनाले पाए सफाइ
Leave a Comment
Leave a Comment






