काठमाडौं, असार २४ — हर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ। अमेरिकी सेनाले इरानका सिरिक, केश्म (क्युशम) टापु र बन्दर अब्बास क्षेत्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप सैन्य कारबाही गरिएको दाबी गरेको छ। सेन्टकमका अनुसार समुद्री सुरक्षामाथि चुनौती सिर्जना गर्ने गतिविधिविरुद्ध यो कदम चालिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि इरानका लक्षित क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। इरानी सञ्चारमाध्यमले केही व्यक्ति घाइते भएको जनाए पनि तत्काल कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन।
इरानका उप–परराष्ट्र मन्त्रीले अमेरिकी आक्रमणलाई हालै दुई देशबीच भएको समझदारीको उल्लङ्घन भएको भन्दै यसको उचित र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन्। इरानको परराष्ट्र मन्त्रालयले पनि वासिङ्टनमाथि सम्झौता पालना नगरेको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले इरानलाई दिइएको तेल निर्यातसम्बन्धी अस्थायी छुटसमेत खारेज गरेको छ। यस कदमले दुई देशबीचको कूटनीतिक सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषण गरिएको छ।
उता, खाडी क्षेत्रका कतार र साउदी अरेबियाले पनि आफ्ना तेल ट्याङ्करमाथि आक्रमण भएको दाबी गर्दै घटनाको निन्दा गरेका छन्। दुवै देशले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न विश्व समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढेको छ।
हर्मुज जलमार्ग तनावपछि अमेरिकाको इरानमा पुनः हवाई आक्रमण, तेहरानको कडा चेतावनी
Leave a Comment
Leave a Comment






