मंसिर ८, काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण नहुने स्पष्ट पारेका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले धेरै पार्टी नेताहरूले ‘के अहिलेका सभापतिकै हस्ताक्षरमा चुनाव लड्नुपर्ने हो?’ भनेर जिज्ञासा राखेको उल्लेख गर्दै अबको टिकट नयाँ सभापतिको हस्ताक्षरमा निर्गत हुने जानकारी दिए।
थापाका अनुसार कांग्रेसको विधानअनुसार अब निर्धारित समयमै विशेष महाधिवेशन हुनेछ र त्यसबाट नयाँ सभापति चयन हुनेछ। उनले भने, “विशेष महाधिवेशनबाट नयाँ सभापति चुनिन्छ, र त्यही सभापतिको हस्ताक्षरमा टिकट वितरण गर्ने निर्णय निर्वाचन आयोगमा पठाइनेछ।”
फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई उल्लेख गर्दै थापाले यही कारण आफूले निर्वाचनअघि विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने धारणा राख्दै आएको पुनः दोहोर्याए।
कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन कुन गर्ने भन्ने विषयमा एकमत नहुँदा चलिरहेको अन्योलतर्फ संकेत गर्दै उनले भने, “अब अलमलमा बस्ने समय छैन, विशेष महाधिवेशनको विकल्प छैन।”



Leave a Reply