रौतहट, असार २४ — रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्वको विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बुवा–छोरालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार राति स्थानीय रामबहादुर साह, बुटन साह, रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयमा विवाद भएको थियो। विवाद चर्किएपछि रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए।
चक्कु लागेर बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि राति उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाका क्रममा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा रामेश्वर साह र उनका बुवा रामऔतार साहलाई पक्राउ गरेको छ। दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।
रौतहटमा जग्गा विवादमा चक्कु प्रहार, एक जनाको मृत्यु, बुवा–छोरा पक्राउ
Leave a Comment
Leave a Comment






