काठमाडौं, असार २८ — एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो प्रभावशाली जित दर्ता गरेको छ। मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई १५१ रनको विशाल अन्तरले हराउँदै प्रतियोगितामा आफ्नो उत्कृष्ट लय कायम राखेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई १९९ रनको विशाल योगफल तयार पार्यो। नेपाली टोलीका ओपनर सना प्रविण र सावित्री धामीले पहिलो विकेटका लागि अविजित १९९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
सना प्रविण शतकबाट केवल दुई रनले चुकेर ९८ रनमा अविजित रहिन् भने सावित्री धामीले ७४ रनको उत्कृष्ट इनिङ्स खेलिन्। दुवै ब्याटरले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै सिंगापुरका बलरलाई दबाबमा राखेका थिए।
२०० रनको कठिन लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलरहरूको अनुशासित बलिङसामु टिक्न सकेन। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै उसले केवल ४८ रन मात्र बनाउन सक्यो।
सिंगापुरका लागि अङ्किता वर्षा राजले सर्वाधिक १९ रन बनाइन् भने ध्वनि प्रकाशले ८ रनको योगदान गरिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सिंगापुरका तीन खेलाडी त शून्यमै आउट भए।
नेपालको जितमा अनु कडायतले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा २० डट बल फ्याँकेर विपक्षीलाई दबाबमा राखिन्। मनीषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट लिए भने सोनी पाख्रिनले १ विकेट हात पारिन्।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रनले पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपाल समूह ‘डी’ मा बलियो अवस्थामा पुगेको छ।
अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ। उक्त खेलमा पनि जित निकाल्न सके नेपाल अर्को चरणमा पुग्ने सम्भावना थप बलियो हुनेछ।
एसीसी यू–१९ महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो शानदार जित, सिंगापुर १५१ रनले पराजित
Leave a Comment
Leave a Comment

