५ असार, बारा: नेकपा (एकीकृत समाजवादी)को १०औं महाधिवेशनका लागि बारामा भएको प्रतिनिधि छनौट मनोमानी र धाधली रुपमा भएको छ ।
पार्टीको विधि, विधान र प्रक्रियालाई लत्याउँदै प्रतिनिधि छनौटमा मनोमानी र धाधली भएपछि पार्टीकै नेताहरुले बहिष्कार गरेका छन् ।
बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा आज क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ ।
बारा ४ का लागि पार्टीको तर्फबाट प्रतिनिधि छनौटका लागि संयोजक तोकिएका कृष्णकुमार (किसान) श्रेष्ठले आफ्नो खल्तीबाट एउटा सुची निकालेर बाचन गर्न थालेपछि सहभागि नेताहरुले बहिष्कारको चेतावनी दिएका थिए । तर श्रेष्ठले ‘जे मन लाग्छ त्यही गर्नु, यही हो प्रतिनिधिको अन्तिम नामावली’ भन्दै कार्यक्रम स्थलबाट हिडेका थिए ।
क्ष्रेत्र नम्बर ४ मा एकीकृत समाजवादीका २ हजार ११ संगठित सदस्य भएकोमा प्रतिनिधि छनौटका लागि भएको भेलामा ५० देखी ६० जनामा मात्रै सहभागि भएका थिए । भेलामा सहभागि एकीकृत समाजवादी बाराका सदस्य सुभाष साहले विधि, प्रक्रिया विपरित मनोमानी तरिकाले गरिएको प्रतिनिधि छनौट कार्यको विरोध भएको बताए ।
‘दुई हजार भन्दा बढी संगठित सदस्य बारा निर्वाचन क्षेत्र नं. ४ मा छन् । तर सबैलाई खबरै नगरी ५०/६० जना मात्रै सहभागि थिए । प्रतिनिधि छनौट प्रक्रिया अनुसार मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो, तर त्यो भएन । मतदाताको नामावली नै सार्वजनिक गरिएन्’ साहले भने, ‘उम्मेदवारी दिने समयमा उम्मेदवारी दिने कार्यक्रम पनि भएन् । कतिपयले उम्मेदवारी दिने तयारीमै थिए । सर्वसम्मतको नाममा मनोमानी भयो । जो संगठित सदस्य हुन तिनले आफ्नो प्रतिनिधि आफै छान्न पाएनन् ।’
भेलामा सहभागि अर्का युवा नेता शम्भु यादवले सर्वसम्मतको नाममा गोजीको मान्छे ल्याउँन खोजिनु पार्टी हितविपरितको काम भएको बताए । प्रतिनिधि छनौट अघि क्षेत्रिय कमिटीको बैठक बस्नुपर्ने, मतदाता नामावली सार्वजनिक गर्नुपर्ने, उम्मेदवारी दिन पाउँनुपर्ने सवै प्रक्रिया मिचिएको यादवले बताए ।
एकीकृत समाजवादीका बाराका सदस्य रामसुन्दर प्रसाद साहले समेत मनोमानी नगर्न सुझाव दिदै बैठकमै विरोध गर्दै गरेका थिए । तर सहभागिहरुको कुरा नसुनेर जबरजस्ती गरिएपछि उनले सो बारेमा पार्टीमा उजुरी समेत गरेका छन् । प्रक्रिया विपरित मनोमानी प्रतिनिधि छनौट गरेपछि पार्टीमा निवेदन दिदै प्रक्रिया अनुसार पुनः प्रतिनिधि छनौट हुनुपर्ने माग समेत गरेका छन् ।
बारा ४ मा मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएपछि प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्न माग गर्दै उजुरी समेत परेको छ । अगामी असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट देशैभरी भईरहेको छ ।
प्रतिनिधि छनोटका लागि बारा निर्वाचन क्षेत्र नं १ र २ बाट ५–५ जना निर्वाचन क्षेत्र नं ३ बाट ७ जना र निर्वाचन क्षेत्र नं ४ बाट १६ जना प्रतिनिधि छनोट हुनुपर्छ । साथै मजदुर क्षेत्रबाट १ छनोट हुनेछन् ।
प्रतिनिधि छनोटको क्रममा महिला, दलित र युवाको सहभागिता अनिवार्य गरिएको छ । जिल्लाबाट छनोट भएका प्रतिनिधिहरू पार्टीको १० औ केन्द्रीय अधिवेशनमा केन्द्रीय कमिटी चयन प्रक्रियामा सहभागि हुनेछन् ।