काठमाडौं, असार ३० — बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो। अदालतले उनलाई यस प्रकरणका मुख्य दोषीमध्ये एकका रूपमा सजाय निर्धारण गरेको जनाएको छ।
यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यसअघि असार २४ गते अदालतले यस मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका थिए। मंगलबार दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरिएको हो।
दोषी ठहर भएका अन्य व्यक्तिहरूमध्ये पूर्वसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, टेकनाथ रिजाललाई २ वर्ष कैद तथा डा. इन्द्रजित राईसहित अन्य अभियुक्तलाई पनि अदालतले कसुरको प्रकृतिअनुसार सजाय निर्धारण गरेको छ।
नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने नाममा सर्वसाधारणबाट ठूलो रकम असुलिएको बहुचर्चित प्रकरणमा अदालतको यो फैसला महत्वपूर्ण मानिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष, बालकृष्ण खाणलाई २ वर्ष कैद
Leave a Comment
Leave a Comment

