राजविराज, साउन २ — सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा नाइके (कैदी प्रतिनिधि) सम्बन्धी विवाद उत्कर्षमा पुगेपछि पाँच जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्।
शनिबार बिहान कारागारभित्र दुई समूहबीच केही दिनदेखि जारी विवाद चर्किएपछि एक पक्षका पाँच कैदीबन्दीले मेसमा खाना पकाउन राखिएको मट्टितेल शरीरमा छर्केर आगो लगाउने प्रयास गरेका हुन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ती कैदीबन्दीले कारागारका नाइकेले बिना कारण दुर्व्यवहार गर्दै दुःख दिने गरेको आरोप लगाउँदै उनलाई हटाउन माग गरेका थिए। तर अर्को पक्षले नाइकेलाई हटाउन अस्वीकार गरेपछि विवाद झन् बढेको हो।
विवादकै क्रममा असन्तुष्ट पक्षका पाँच कैदीबन्दीले आत्मदाहको प्रयास गरे पनि कारागार प्रशासन र चिकित्सक टोली तत्काल सक्रिय भएकाले कुनै मानवीय क्षति हुन पाएन।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार विवाद समाधानका लागि सम्बन्धित नाइकेलाई त्यहाँबाट अन्यत्र सारिएको छ। त्यसपछि कारागारभित्रको अवस्था अहिले सामान्य बन्दै गएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।
सप्तरी कारागारमा नाइके विवाद चर्कियो, पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास
Leave a Comment
Leave a Comment

