आज नामिबियासँग भिड्दै नेपाल, विश्वकप छनोट सम्भावना बलियो बनाउने लक्ष्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन ५ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेदरल्यान्ड्स भ्रमणको सुरुआत गर्दैछ। नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुने खेलमा जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्य नेपालले लिएको छ।
नेदरल्यान्ड्स, नेपाल र नामिबियाबीच हुने त्रिदेशीय सिरिज नेपाली टोलीका लागि निकै महत्वपूर्ण छ। हाल पाँचौँ स्थानमा रहेको नेपाललाई विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः छनोट हुन शीर्ष चारभित्र पुग्न बाँकी सबै खेलमा उत्कृष्ट नतिजा आवश्यक छ।
घरेलु मैदान कीर्तिपुरमा भएको पछिल्लो लिग–२ सिरिजमा नेपालले आठमध्ये ६ खेल जित्दै उल्लेखनीय पुनरागमन गरेको थियो। सोही प्रदर्शनका कारण नेपाल सातौँबाट पाँचौँ स्थानमा उक्लिएको हो। अब त्यही आत्मविश्वासलाई विदेशी भूमिमा पनि दोहोर्याउने अपेक्षा गरिएको छ।
नेपालले यस सिरिजमा चार खेल खेल्नेछ। आज नामिबियासँग खेल्ने नेपालले साउन ७ गते नेदरल्यान्ड्ससँग, साउन ११ गते फेरि नामिबियासँग र साउन १३ गते पुनः नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
अंक तालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। तेस्रो स्थानको नेदरल्यान्ड्ससँग ३२ अंक, चौथो स्थानको ओमानसँग ३१ अंक र सातौँ स्थानको नामिबियासँग २२ अंक छ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, सोमपाल कामीलगायत अनुभवी खेलाडी छन्। युवा र अनुभवी खेलाडीको संयोजन रहेको टोलीले यस सिरिजमा सकारात्मक नतिजा निकाल्ने विश्वास गरिएको छ।
नेपालका लागि यो सिरिज केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई विश्वकप छनोटको यात्रालाई जीवित राख्ने महत्वपूर्ण अवसर पनि हो।

Leave a Comment