काठमाडौं, साउन ५ — देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा उत्तरतर्फ रहेकाले वर्षा प्रणाली सक्रिय बनेको हो। बिहानदेखि नै देशका अधिकांश स्थानमा बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा झापाको अनारमनी बिर्ता क्षेत्रमा मापन गरिएको छ, जहाँ १०२.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। अत्यधिक वर्षापछि कन्काई नदीको जलसतह खतराको तह नाघेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विभागले नदी तथा खोलानाला आसपास बसोबास गर्ने, पहाडी क्षेत्रमा यात्रा गर्ने तथा बाढी–पहिरोको जोखिम रहेका स्थानका नागरिकलाई मौसमको अद्यावधिक जानकारी पछ्याउँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
आज ६ प्रदेशमा भारी वर्षाको चेतावनी, झापाको कन्काई नदीमा बाढीको जोखिम
Leave a Comment
Leave a Comment

