काठमाडौँ, १२ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनसँगै मन्त्री चयन प्रक्रिया तीव्र बनाएको छ। पार्टीले शुक्रबार प्रधानमन्त्रीसँगै केही मन्त्रीलाई शपथ गराउने लक्ष्यसहित नाम टुंग्याउने तयारी गरेको जनाएको छ।
बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले मन्त्री चयनमा नेतृत्वलाई विश्वास गर्न आग्रह गरेका छन्। उनले मन्त्री बन्नका लागि अनावश्यक दबाब वा ‘लबिइङ’ नगर्न स्पष्ट सन्देश दिएका छन्।
बैठकमा उनले योग्यताको आधारमा मन्त्री र सभामुख चयन गरिने बताउँदै सबैलाई धैर्य रहन आग्रह गरेका थिए। ‘नेतृत्वलाई विश्वास गर्नुस्, हामी आवश्यक मापदण्डका आधारमा निर्णय गर्छौं,’ भन्ने उनको धारणा रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
उक्त बैठकमै वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा प्रस्ताव गरिएको थियो, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। शाह शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारीमा छन्।
रास्वपाका नेताहरूका अनुसार मन्त्रीको नामबारे अन्तिम टुंगो लाग्न बाँकी भए पनि आज रातभित्रै सहमति जुटाउने प्रयास भइरहेको छ। केही नाममा छलफल अघि बढे पनि जिम्मेवारी बाँडफाँटबारे अन्तिम निर्णय हुन सकेको छैन।
पार्टी नेतृत्व केही दिनदेखि निरन्तर छलफलमा जुटिरहेको छ। नयाँ सरकार गठनसँगै मन्त्री चयन, सभामुख नियुक्ति लगायत महत्वपूर्ण निर्णयहरू छोटो समयमै गर्ने तयारी रास्वपाले गरेको छ।

