काठमाडौं, साउन ५ — स्वास्थ्य उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले छिट्टै नेपाल फर्कने जानकारी दिँदै वर्तमान राजनीतिक परिस्थितिमा प्रतिशोधको राजनीति त्यागेर राष्ट्रिय सहकार्य र संवादलाई अघि बढाउनुपर्ने बताएका छन्।
मंगलबार सार्वजनिक गरेको सन्देशमा देउवाले देशलाई अहिले विभाजनभन्दा एकता, अविश्वासभन्दा विश्वास र द्वन्द्वभन्दा सहकार्यको आवश्यकता रहेको उल्लेख गरेका छन्। उनले इतिहासका अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान र सिर्जनशीलतालाई जोडेर राष्ट्रिय एकता निर्माण गर्नुपर्ने बताएका छन्।
देउवाले प्रतिशोध र निषेधको राजनीतिले मुलुकलाई सही दिशामा लैजान नसक्ने उल्लेख गर्दै साझा भविष्य निर्माणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले यही विश्वासका साथ आफू पुनः नेपाली भूमिमा फर्किन लागेको बताएका छन्।
सन्देशमा उनले वर्तमान सरकारले प्रतिशोधात्मक र अलोकतान्त्रिक व्यवहार गर्न सक्ने आशंका पनि व्यक्त गरेका छन्। तर, नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासप्रति आफू पूर्ण रूपमा आशावादी रहेको उनको भनाइ छ।
स्वास्थ्य उपचारका क्रममा देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि
चैत ७ गते हङकङ पुगेका उनी अब उपचार सम्पन्न गरेर स्वदेश फर्कने तयारीमा रहेका छन्।
स्वदेश फर्कने तयारीमा देउवा, ‘देशलाई प्रतिशोध होइन, सहकार्य चाहिएको छ’
Leave a Comment
Leave a Comment

