घरायसी विवादले लियो दम्पतीको ज्यान, झापाको दमकमा दुःखद घटना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

झापा, साउन ६ — झापाको दमकमा घरायसी विवादले उग्र रूप लिँदा एक दम्पतीको ज्यान गएको छ। श्रीमान्को खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो भने घटनापछि आत्महत्याको प्रयास गरेका श्रीमान्को पनि उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दमक नगरपालिका–१ श्रीपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच बुधबार दिउँसो करिब २ बजे सामान्य विषयलाई लिएर विवाद भएको थियो।
विवाद चर्किएपछि धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। त्यसपछि उनले घरको अर्को कोठामा गएर सिलिङ पङ्खामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए।
उक्त दृश्य उनकी २५ वर्षीया छोरीले देखेपछि तत्काल पासो काटेर बुबालाई तल झारेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले दुवै जनालाई तत्काल उद्धार गरी दमक अस्पताल पुर्‍याए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment