९ पुस,काठमाडौँ । भारतको कोलकतामा सम्पन्न नवौँ टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ११ पदक जित्न सफल भएका छन् ।
डिसेम्बर २१ देखि २३ सम्म कोलकतास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा आयोजित प्रतियोगितामा जैसीदेवलका खेलाडीले ९ स्वर्ण, १ रजत र १ कांस्य पदक हात पार्दै नेपाली तेक्वान्दोको सशक्त उपस्थिति देखाएका हुन् ।
डोजाङका प्रमुख राजेश प्रजापतिका अनुसार पुम्से विधातर्फ रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जित्दा वितिशा तामाङले रजत पदक प्राप्त गरिन् ।
त्यसैगरी गेरोगी विधातर्फ अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जितेका छन् । राहुलहाङ लिम्बूले कांस्य पदक जित्दै टोलीको पदक सङ्ख्या दोहोरो अंकमा पुर्याएका हुन् ।
प्रतियोगितामा अन्जित राई टोली प्रशिक्षकको भूमिकामा थिए भने भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका रूपमा सहभागी थिए ।
जैसीदेवल डोजाङको यस उपलब्धिलाई नेपाली तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धात्मक क्षमताको संकेतका रूपमा हेरिएको छ ।

