२७ मंसिर ,काठमाडौँ ।
यू–१९ एसिया कप एकदिवसीय क्रिकेटमा नेपाली युवा टोलीको ब्याटिङ फेरि कमजोर सावित भएको छ। यूएईको सेभेन्स स्टेडियममा टस जितेर श्रीलंकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमै ८२ रनमा समेटियो।
नेपालका लागि सिवरिन श्रेष्ठले सर्वाधिक १८ रन बनाए। उनले ४३ बल खेलेर एक चौका मात्र प्रहार गर्न सके। ओपनर साहिल पटेल १२ र निरज कुमार यादव १० रनमा आउट भए भने बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न असफल भए।
श्रीलंकाका बलरहरू नेपाली ब्याटरमाथि पूर्ण रूपमा हाबी देखिए। सेटमिका सेनेचिरत्नेले ९.५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स चाँडै समाप्त गरे। उनलाई रासिथ निमसरा, भिग्नेश्वरम आकाश, दुलनिथ सिगेरा र चामिका हिनातिगालाले समान एक–एक विकेट लिएर साथ दिए।
८३ रनको झिनो लक्ष्य प्रस्तुत गरेसँगै नेपाल दबाबमा परेको छ। अब श्रीलंकालाई जितका लागि सामान्य स्कोर पार गर्नुपर्ने छ, जबकि नेपालका बलरहरूका लागि चमत्कारिक प्रदर्शनको आवश्यकता देखिएको छ।
यू–१९ टोलीका लागि यो खेलले ब्याटिङ सुधारको गम्भीर प्रश्न पनि खडा गरेको छ।


