सिरहामा खेतमै गोली प्रहार, ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सिरहा, माघ १६ — सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवको शुक्रबार साँझ गोली प्रहारबाट ज्यान गएको हो।

स्थानीय बासिन्दाका अनुसार यादव वडा नं. ७ अन्तर्गत मैनाबत्ती खोला किनार नजिकै रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोत्ने काम गरिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका थिए। गोली लागेपछि उनी ढलेका थिए र घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला गोली प्रहार गरी हत्या गरिएको सूचना प्राप्त भएको बताए।

“कसैले गोली दागेर हत्या गरेको भन्ने खबर आएको छ, म पनि घटनाबारे थप बुझ्दै अस्पतालतर्फ जाँदै छु,” उनले भने।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले पनि प्रारम्भिक अवलोकनबाट गोली प्रहारकै कारण मृत्यु भएको देखिएको जानकारी दिए।

तर हत्या कसले र किन गरेको हो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment