स्वर्गीय मेयर प्रदीप यादवप्रति कांग्रेस शीर्ष नेताहरूको अन्तिम सम्मान मुख्यमन्त्रीदेखि केन्द्रीय नेतासम्म जनकपुरधाममा श्रद्धाञ्जली

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जनकपुरधाम, २७ माघ २०८२
हंसपुर नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष स्वर्गीय प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । मधेश प्रदेशका मुख्यमन्त्रीसहित कांग्रेसका प्रभावशाली नेताहरू जनकपुरधामस्थित यादवको निवास पुगेर अन्तिम सम्मान व्यक्त गरेका हुन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, उपसभापति चन्द्रशेखर यादव, महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जय नारायण प्रसाद यादवलगायतका नेताहरूले स्वर्गीय यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।

नेताहरूले स्वर्गीय यादवलाई नेपाली कांग्रेसको संगठन सुदृढीकरण र स्थानीय तहको विकासमा इमानदार, समर्पित तथा जनतामाझ लोकप्रिय नेतृत्वका रूपमा स्मरण गरेका छन् । उनको निधनले पार्टी मात्र होइन, मधेश प्रदेश र स्थानीय शासन प्रणालीले एक सक्षम र दूरदर्शी नेतृत्व गुमाएको मुख्यमन्त्री यादवले बताएका छन् ।

मुख्यमन्त्री यादवले स्वर्गीय प्रदीप यादवको योगदानको प्रशंसा गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनका अनुसार यादवको अभाव पार्टी र नगरपालिकामा लामो समयसम्म खट्किरहनेछ ।

यसैबीच, कांग्रेस मधेश प्रदेश कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले आज मधेश प्रदेशका आठै जिल्लाका पार्टी कार्यालय एक दिन बन्द राख्ने, माघ २७ र २८ गते दुई दिन आधा झण्डा झुकाउने, शोक पुस्तिका राख्ने तथा १३औँ दिन पुण्यतिथिका अवसरमा प्रदेश पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।

स्वर्गीय प्रदीप कुमार यादवको आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

Leave a Comment