जनकपुरधाम, साउन २२ — सरकार र मिटरब्याज पीडित पक्षबीच भएको ९ बुँदे सहमति तथा त्यससँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णयको विरोध गर्दै मधेश प्रदेशका साहु–महाजनहरूले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेका छन्।
पीडित लेनदेन संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले आफूहरूको पक्षलाई बेवास्ता गर्दै एकतर्फी निर्णय गरेको आरोप लगाए। उनीहरूले उक्त सहमति र मन्त्रिपरिषद्को निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका साहु–महाजनहरूले जनकपुरधामका विभिन्न सडकमा र्याली निकाल्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा तथा जिल्ला अदालत धनुषा अगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए।
संघर्ष समितिका मधेश प्रदेश अध्यक्ष विजय यादवले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे थप सशक्त आन्दोलन सुरु गरिने चेतावनी दिए। उनका अनुसार माग पूरा नभए भदौ १ गतेदेखि काठमाडौंमा सिंहदरबार घेराउ गर्ने तथा माईतीघर मण्डलामा धर्ना दिने कार्यक्रम तय गरिएको छ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘कानुनी राज्य कायम गर’ लगायतका नारासमेत लगाएका थिए। साथै, लेनदेनसम्बन्धी विवादको दीर्घकालीन समाधानका लागि सरकार, सरोकारवाला पक्ष र प्रतिनिधिहरू सम्मिलित त्रिपक्षीय वार्ताको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।
जनकपुरमा साहु–महाजनको प्रदर्शन, भदौ १ देखि सिंहदरबार घेराउ गर्ने चेतावनी
Leave a Comment
Leave a Comment

