भीमफेदी स्कारपियो दुर्घटना : मुख्य न्यायाधीश र रजिस्ट्रारसहि ६ जना घाइते, ४ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी र रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका छन्।
काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो बिहान करिब ७ बजे अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मुख्य न्यायाधीश डाँगी, रजिस्ट्रार बडु, स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी तथा रजिस्ट्रार बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका हुन्।
घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने मुख्य न्यायाधीश डाँगीसहित अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सबैलाई प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल लगिएको थियो। त्यसमध्ये मुख्य न्यायाधीश डाँगी, लक्ष्मी बडु, रितेन्द्र बडु र रिता बडुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल लगिएको छ। उनीहरूलाई बिहान ९ः१५ बजे काठमाडौँ पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
यसैगरी स्कारपियो चालक चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment