तनहुँ, १२ माघ — सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम बन्द नहुने स्पष्ट पार्दै स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले यसलाई सुधार गरेर अझ प्रभावकारी बनाइने बताएकी छन्।
स्वास्थ्य बीमा कार्यक्रम आर्थिक अभावका कारण प्रभावित हुन सक्ने चर्चा चलिरहेका बेला मन्त्री गौतमले त्यस्ता सूचनामा सत्यता नभएको दाबी गरिन्। उनका अनुसार बाहिर हल्ला भएजस्तो गम्भीर समस्या नरहेको र कार्यक्रमलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको छ।
तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको अनुगमनका क्रममा उनले स्वास्थ्य बीमा प्रणालीभित्र देखिएका बेथिति र व्यवस्थापकीय कमजोरी हटाउने काम अघि बढिरहेको जानकारी दिइन्। आवश्यक आर्थिक स्रोतको पहिचान र व्यवस्थापन प्रक्रियामा रहेको उल्लेख गर्दै उनले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।
मन्त्री गौतमले स्वास्थ्य करमार्फत संकलित रकम स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा केन्द्रित गर्न सके आर्थिक दबाब कम हुने बताइन्। यद्यपि, हाल केही आर्थिक चुनौती भने रहेको उनले स्वीकार गरिन्।
उपचार सेवाको गुणस्तर सुधारतर्फ सरकार गम्भीर रहेको जनाउँदै उनले जीपी कोइराला केन्द्रको स्तरोन्नति तथा सेवा विस्तारमा विशेष ध्यान दिइएको जानकारी दिइन्। सरकारबाट उपलब्ध स्रोत र सहयोगका आधारमा उपचारमूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने उनको भनाइ छ।
सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउनेतर्फ काम भइरहेको मन्त्रालयले जनाएको छ।







