होर्मुज जलमार्ग खुलाउने तयारी, इरान र ओमानबीच नयाँ सहमति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ ११ — लामो समयदेखि लगभग ठप्प रहेको होर्मुज जलमार्गमा व्यावसायिक जहाजको आवागमन सहज बनाउने उद्देश्यले इरान र ओमानबीच नयाँ व्यवस्थापन ढाँचामा सहमति भएको छ।

इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीका अनुसार प्रस्तावित व्यवस्थाअन्तर्गत होर्मुज जलमार्गबाट कुनै पनि देशका सैन्य जहाजलाई प्रवेश वा पारगमन गर्न अनुमति दिइने छैन। दुवै देशका उच्च तहका कूटनीतिज्ञबीच भएको छलफलपछि व्यावसायिक जहाज सञ्चालनका विषयमा यस्तो समझदारी बनेको हो।
प्रस्तावअनुसार ओमानको खाडीबाट पर्सियन खाडीतर्फ जाने व्यावसायिक जहाजले पूर्ण रूपमा इरानी जलक्षेत्र हुँदै यात्रा गर्नेछन्। पर्सियन खाडीबाट बाहिरिने जहाजका लागि भने इरानी र ओमानी दुवै जलक्षेत्र समेटिने मार्ग तय गरिनेछ।
मध्यपूर्वमा इरानसँगको युद्ध सुरु भएको करिब ६ महिना पुग्न लाग्दा रणनीतिक महत्त्वको यो जलमार्गमा जहाज आवागमन प्रभावित हुँदै आएको छ। नयाँ व्यवस्थाले विशेषगरी व्यावसायिक जहाजको आवागमन पुनः सहज बनाउने अपेक्षा गरिएको छ।
तर, इरान र ओमानबीच प्रस्तावित संयुक्त व्यवस्थापनका केही प्रावधानप्रति अमेरिकी प्रशासनले असन्तुष्टि जनाएको छ। विशेषगरी जलमार्गको बाहिरिने क्षेत्रमा इरान र ओमानको संयुक्त नियन्त्रण रहने प्रस्तावप्रति अमेरिका असहमत रहेको बताइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त प्रक्रियामा ओमानले अवरोध गरे सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका थिए।

Leave a Comment