तनहुँमा बस दुर्घटना हुँदा१८ जनाको मृत्यु, १६ घाइतेको उद्धार

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 201
पढ्न लाग्ने समय : 1 मिनेट

७ भदौ, काठमाडौं : तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १८ जनाको मृत्यु भएको छ ।

दिउँसो ३ बजेसम्म १८ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।