२३माघ, कलैय: बाराको कलैयास्थित ऐतिहासिक श्री ३ चन्द्र माध्यमिक विद्यालयको भवन आधुनिक तरीकाले निर्माण गरिएको छ ।
विद्यालयको जीर्ण भवन आधुनिक तवरले पुनर्निर्माण गरिएको हो ।
अग्रवाल फाउण्डेशनले १२ करोड रुपैयाँलागतमा विद्यालयको भौतिक संरचना आधुनिककरण गरिएको हो।
वि.सं. १९८४ मा स्थापना भएको विद्यालयको पुरानो भवन जीर्ण बन्दै गएपछि अग्रवाल फाउण्डेशनको आर्थिक सहयोगमा चारतले नयाँ भवन निर्माण गरिएको हो।
आज एक विशेष समारोहका बीच फाउण्डेशनका अध्यक्ष डा. बजरंग अग्रवाल र उनका परिवारका सदस्यहरूले संयुक्त रूपमा भवनको उद्घाटन गरे ।
विद्यालय पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका डा. बजरंग अग्रवालले भने, ‘मैले जन्मेहुर्केको र पढेको ठाउँको लागि केही योगदान गर्ने भावना जागेर विद्यालयको पुनर्निर्माणमा सहयोग गरेको हुँ। शिक्षा नै जीवनको मुल आधार भएकाले यसको महत्व बुझ्दै अघि बढ्नुपर्छ।’
अमेरिकामा बसोबास गर्दै डा. अग्रवाल तथा उनका परिवारका सदस्यहरूले कलैयाका अन्य विद्यालयहरूमा समेत भवन निर्माण गरी शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका छन्। विद्यालय भवन उदघाटनलागि अमेरिकाबाट नेपाल आएका अग्रवाल परिवारलाई कलैयामा नागरिक अभिनन्दनसँगै भव्य स्वागत गरिएको थियो।
राणा शासन कालमा स्थापना भएको श्री ३ चन्द्र विद्यालयलाई ‘हाई स्कुल’ भनेर चिनिने गरिएको छ।