२७ चैत, काठमाडौं :: शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले आज आठौ दिन पनि विरोध प्रदर्शन गरेका छन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीले प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
‘शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन प्रदर्शन गरेका हौँ,’ आन्दोलनमा सहभागी नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले भने, ‘ एक साता हुँदा पनि हाम्रा मागहरू सम्बोधन भएको छैन। त्यसकारण आज प्रदर्शन गरेका हौं।’
मंगलबार(हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।
Leave a Reply