८ फागुन,बारा: अंश चौधरीलाई न्यायको माग गर्दै आज प्रदर्शन गरिएको छ ।
वीरगन्ज पथलैया सडक खण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर बजारमा चौधरीलाई न्यायको माग गर्दै परिवारजनद्वारा प्रदर्शन गरिएको हो ।
परिवारजन तथा स्थानीयहरूले केही बेर सवारी साधन अवरोध गरि सडकजाम समेत गरेका थिए ।
पिडित परिवारले हत्यारालाई पक्राउ गर, अंशलाई न्याय देउ, बालबालिका मार्न पाईदैन, हत्यारा जोगाउन पाईदैन लगायतको प्लेकार्ड बोकेरे दोषीलाई कारवाही गर्न सडकजाम गरेका थिए ।
बालक चौधरीको बुवा रितेश चौधरीले प्रहरीले अनुसन्धान फितलो बनाएको आरोप लगाएका छन् ।
१० दिनदेखि हराएका बालकको शव कुहिनुपर्ने भए पनि शव ताजा अवस्थामा फेला परेको छ, बालकले लगाएको डाईपर उसको शरीरमा फेला नपर्नु र लगाईएको लुगा अर्को ठाउँमा फेला पर्नुले प्रहरीको अनुसन्धान माथी प्रश्न चिन्ह खडा भएको उनले बताए ।
प्रहरीको रिपोर्टमा आफनो छोरा डुबेर मृत्यु भएको बताए देखि घट्नालाई झन शंकास्पद बनाएको परिवारजनले बताएका छन् । पीडित परिवारले घटना निष्पक्ष छानवीन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) खटाउन माग गरेका छन ।
प्रहरीले निष्पक्ष छानवीन गर्न आश्वासन दिए पछि प्रदर्शनकारीले
एक घण्टापछि प्रदर्शन स्थगित गरेका थिए । प्रहरीले परिवारजनलाई धाकधम्की समेत दिरहेको मृतकका बुवाले आरोप लगाएका छन् ।
पिडितका परिवार जन, मधेश प्रदेश सभा सदस्य-देवनारायण चौधरी, वडा अध्यक्ष-सुनिल गुप्ता, व्यापार संघ अध्यक्ष-प्रकाश गिरि, समाजसेवी -राजु राज गिरि मनोज गुप्ता लगायत जितपुर शान्ति टोलका सम्पुर्ण टोलबासीको सहभागीता रहेको थियो ।
गत माघ १७ गतेदेखि हराइरहेका ३ बर्षिय बालक अंश चौधरीको शव १० दिनपछि खोलामा डुबेको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार अंशको मृत्यु खोलामा डुबेर भएको हो। तर, परिवारका सदस्य तथा आफन्तजनले प्रहरीको दाबी अस्वीकार गर्दै अंशको हत्या गरिएको आरोप लगाएका थिए ।
Leave a Reply