संसद्को हिउँदे अधिवेशन : दलीय आधारमा शीर्ष नेताकाे सम्बोधन अर्को बैठकमा, सांसदहरूकाे विद्युतीय हाजिरी शुरु

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 114
पढ्न लाग्ने समय : 2 मिनेट
राष्ट्रिय सभाकाे साेमबार बसेको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत । तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाण्डाै – सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको १५ औँ अधिवेशन शुरु भएको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

यस्तै बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८०’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्नुभयो ।

यसअघि अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा शीर्ष नेताले सम्बोधन गर्ने अभ्यास रहेकोमा यस पटक पहिलो बैठकमा सम्बोधन भएन । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको आजदेखि फागुन १५ गतेसम्मको कार्यसूचीअनुसार राजनीतिक दलका तर्फबाट सम्बोधन आउँदो बुधवारको बैठकमा हुने छ ।

बुधवार बिहान ११ बजे बस्ने बैठकमा शून्य समयसमेत राखिनेछ । फागुन ६ गते बस्ने तेस्रो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यतालिका छ । फागुन १० गते शून्यसँगै विशेष समय थपिएको छ । फागुन ११ गते शून्यसँगै विशेष समयमा राखिएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । फागुन १४ गते मन्त्रालयगत प्रश्नोत्तरको कार्यसूची छ ।

सबै बैठकमा प्रस्तुत गर्ने, छलफल गर्ने तथा अघि बढाउने विधेयकहरूको सूची पनि आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको छ । फागुन १४ गते नै प्रि–बजेट छलफल शुरु गर्ने पनि कार्यतालिका प्रस्ताव गरिएको छ । यसअघि बर्खे अथवा बजेट अधिवेशनमा मात्रै प्रि–बजेटमाथि छलफल हुने गरेकोमा यस पटक भने हिउँदे अधिवेशनमै शुरु गर्ने भएको हो ।

यसैबीच आजदेखि प्रतिनिधि सभाका सांसदहरूको विद्युतीय हाजिरी शुरु भएको छ । संसद् सचिवालयले सांसदहरूको हाजिरी दैनिक सार्वजनिक गर्ने जनाएको छ ।