काठमाडौँ, ३० चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सम्पन्न भएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओलीको पित्तथैलीमा देखिएको पत्थरी सोमबार शल्यक्रिया गरेर निकालिएको हो। उनी दुई हप्ताभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत थिए।
अस्पतालका अनुसार उक्त शल्यक्रिया ओलीका निजी चिकित्सक प्राडा दिव्या सिंह शाहको नेतृत्वमा ग्यास्ट्रोइन्टेरोलोजी सर्जन प्रा.डा. पलेस्वाँ जोशी लाखेसहितको टोलीले सम्पन्न गरेको हो। अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराले शल्यक्रिया सफल भएको जानकारी दिएका छन्।
चिकित्सकहरूले यसअघि नै ओलीको पित्तथैलीमा करिब २२ मिलिमिटरको ढुंगा रहेको बताएका थिए। मुटुको चालमा गडबडी देखिएपछि केही समय निगरानीमा राखेर मात्र शल्यक्रिया गरिएको हो। उनलाई प्रारम्भिक रूपमा ४८ घण्टा हल्टर मोनिटरमार्फत निगरानी गरिएको थियो।
ओली यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन्। प्रत्यारोपण गरेका बिरामीमा संक्रमणको जोखिम उच्च हुने भएकाले चिकित्सकहरूले विशेष सतर्कता अपनाएका थिए।
२०७६ सालमा एपेन्डिसाइटिसका कारण जटिल अवस्थामा पुगेका ओलीको सफल शल्यक्रिया गरिएको थियो। सोही वर्ष त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
हाल चिकित्सकहरूको निगरानीमा रहेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

