ट्राफिक सप्ताह,दुर्घटना क्षेत्रमा छैन जेब्रा क्रसिङ्ग,पैसा उठाउनमै व्यस्त हुन्छ्न ट्राफिक

बिश्व खबर
पढ्न लाग्ने समय : 5 मिनेट

२२ जेठ,बारा: ट्राफिक सप्ताह मनाउदै गर्दा बारामा दुर्घटनाग्रस्त क्षेत्रमा सरोकारवालाहरूको नजर गएन । कलैया सदरमुकामको दुर्घटनाग्रस्त क्षेत्रमा बनाईएन जेब्रा क्रसिङ्ग न त डिभाइडर ।

अति नै भिडभाड हुने कलैया विरगंज सडकखण्डको जिल्ला प्रहरी र प्रशासन कार्यालय अगाडी सेवाग्राही ओहर दोहर गर्नेको चाप हुन्छ, ‘तर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र प्रहरी उपरीक्षक संतोष तामाङ नजर पुग्न सकेको छैन ।

एक अर्काको परिपुरक रहेको कार्यालयमा कामको सिलसिलामा सेवाग्राही आउने जानेको चाप बढने स्वाभाविक रहेको नागरिक समाज अध्यक्ष उमेशलाल दास बताउछन् । बाटो क्रस गर्न अनिवार्य बनाईनु पर्ने जेब्रा क्रसिङ्गमा सम्बन्धित निकायको नजर नजाउनु, ‘ तामझाम साथ ट्राफिक सप्ताह मनाउनु निन्दनीय रहेको दास बताउछन ।

सामान्य कुरा हो, दैनिक जसो प्रहरी कार्यालय प्रशासन कार्यालय अगाडी दुर्घटना हुनु दुखद रहेको उनले बताए । सब भन्दा पहिला त हेभी ट्रक शहर भित्र न कि बाहिरबाट पठाउने व्यस्था मिलाउनुपर्ने दासले सुझाव दिए ।

ट्राफिक सप्ताहमा लाखौ खर्च गरिएको होला, के दुर्घटना हुने क्षेत्रमा सांकेतिक चिन्ह लगाउने काम, जेब्रा क्रसिङ्ग, डिवाइडर राख्ने कार्य यस अन्तर्गत पर्दैन भन्ने पश्न गर्दा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिल्वालले बजेटको अभाव रहेको दुखेसो पोखे । दुर्घटना हुने क्षेत्रमा सांकेतिक साईन बोर्ड, जेब्रा क्रसिङ्ग, डिभाइडर बनाउदा दुर्घटना केही हद सम्म न्युनीकरण गर्न सकिने उनले बताए ।

बाल मन्दिर अगाडी दुर्घटनाग्रस्त क्षेत्र रहेको आफुलाई यस मातहतका कार्यलयले जानकारी नगराएकोले केही गर्न नसकेको सिल्वालले स्विकार गरेका छन् । त्यस ठाउमा तुरून्त निरक्षण गरेर जेब्रा क्रसिङ्ग, सांकेतिक चिन्ह राख्ने काम गर्ने प्रतिवद्वता गरेका छन् । हाम्रो दायित्व नै जिवधनको रक्षा गर्ने रहेको सिल्वालले बताए ।

प्रहरी, प्रशासन कार्यालय बाल मन्दिर नजिक दुर्घटनाको आँकडा भयावह रहेको छ । महिनौ पिच्छे दुर्घटना हुने गरेको छ । केहि दिन पहिला जेठ १८ गते ना.१ क ८०५६ नम्बरको टिप्परले ठक्कर दिदा भारतको बिहार राज्यको मोतिहारी आठ मुहान घर भई हाल बाराको कलैया उपमहानगर-१ मोतिबाघ स्थित डेरा गरी बस्ने हरेराम साहको ६ वर्षीय छोरी सिवानी गुप्तालाई ठक्कर दिदाँ घाईते भएकी थिईन ।

उपचारको क्रममा प्रादेशिक अस्पताल कलैया लग्दा ढाडमा चोट लागेको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागी एल एस न्युरो लग्दा अस्पतालले मृत घोषणा गरेको थियो ।

पचरौता नगरपालिका ७ सखुवाट टोल निवासि हिरालाल मुखिया जेठ २१ गते भगवानपुरमा टिपरको ठक्करले अनाहकमा ज्यान गुमाएका थिए । यी घटना प्रतिनिधी पात्र मात्र हुन । मधेश प्रदेशमा दुर्घटनाको ग्राफ बढेको पाईन्छ ।

दिनहु दुर्घटना बढनुको मुख्य कारण ओभर लोड, मदिरा सेवन गरि सवारी साधन चलाउनु रहेको छ ।

ट्राफिक प्रहरी असुलीमै बिताउँछ समय

सवारी व्यवस्थापनकालागि जिल्लाका विभिन्न ठाउँमा ट्राफिक प्रहरीले युनिट कार्यालयहरु राखेपनि ट्राफिक प्रहरीहरुको दिनचर्या अवैध रकम असुलीमा नै बित्ने गरेको आरोप लाग्न थालेको छ ।
ट्राफिक प्रहरी निरीक्षकको नेतृत्वमा जिल्लामा ट्राफिक प्रहरीको स्थापना भएको छ । तर डीउटीमा खटिने अधिकांश ट्राफिक प्रहरी मालबाहक सवारी साधनसंग रकम असुल्नमै बिताउने गरेको आरोप नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडाले लगाए ।
बालुवा बोकेका ट्रीपर बाटोभरि पानी चुहाउँदै अति तीब्र गतिमा सडकमा कुदेर दुर्घटना भईरहेपनि ट्राफिक प्रहरीहरु कार्बाही गर्नुको सट्टा अवैध रकम असुल्नमै व्यस्त रहेको महासंघका सचिव खतिवडाले आरोप लगाए ।
हरेक युनिटबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखसम्म महिनावारी रकम पुग्ने गरेकोले ट्राफिक प्रहरी प्रमुखले समेत कानमा तेल हालेर बस्ने गरेको आरोप नागरिक समाजका एकजना अगुवाले लगाए ।
कलैया देखि वीरगन्ज पुग्दा जिल्लाको दुई ठाउँमा ट्राफिक प्रहरीको पोस्ट भएपनि तिनीहरू अवैध असुलीमै ध्यान केन्द्रित गरेको ती अगुवाले दाबी गरे ।
कलैयामा वरिष्ठ सईको कमान्डमा र प्रसौनी गण्डकमा वरिष्ठ हवलदारको कमान्डमा ट्राफिक प्रहरी खटाईएको छ ।
तर दैनिक सयौंको संख्यामा ट्राफिक नियम मिचेर सानादेखि ठुला मालबाहक सवारी साधन सडक र सवारी ऎन मिचेर ओहोरदोहोर गर्ने गरेको अनुगमनबाट देखिन्छ ।
ती ऎन मिच्ने सवारीलाई कार्बाही गर्नुको सट्टा ट्राफिक प्रहरीले एक सय देखि तीन सय असुल्नमा नै समय खर्चिने गरेको आरोप नेपाली कांग्रेस बाराका सचिव एवं कांग्रेसका युवा नेता राजेश रौनियारले लगाए ।
ट्राफिक प्रहरीले ईमान्दारी पुर्वक सवारी चेकजाँच र कार्बाही प्रक्रिया नबढाए कडा कदम चाल्ने चेतावनी युवा नेता रौनियारले दिए ।
नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले सडकमा गुडने सवारी साधन व्यापक ट्राफिक नियम उल्लंघन गरेपनि ट्राफिक प्रहरीको मौनताले प्रश्न उब्जाएको बताए ।
उनले ट्राफिक प्रहरीको भुमिका शंकास्पद रहेको टिप्पणी गरे ।
ट्राफिक प्रहरी निरीक्षक दिपक केसीले आफु कडाईका साथ ट्राफिक नियम कार्यान्वयन गर्न निर्देशन दिएको बताए ।

 

Leave a Comment