काठमाडौं, कात्तिक १६ । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले बन्द भएका उद्योगहरूको विद्युत् लाइन तुरुन्त जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।
आइतबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको मुख्यमन्त्रीहरूको बैठकमा सोनालले उद्योगहरूको लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने अवस्था आएको भन्दै तत्काल समाधानको माग गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, “डेडिकेटेड लाइनको नाममा उद्योगहरूको लाइन काटिएको छ। यसले उत्पादन ठप्प र रोजगार संकटको स्थिति ल्याएको छ। यो समस्या तुरुन्त समाधान हुनुपर्छ।”
सोनालले संघीय सरकार र प्रदेश सरकारबीचको आर्थिक सहकार्यबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको बताए। उनले भने, “अर्थमन्त्रीले प्रदेशलाई दिने भनिएको अनुदान सरकारले कटौती नगरेको स्पष्ट पार्नुभयो। तर प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने अपेक्षा व्यक्त गर्नुभयो।”
उनका अनुसार, प्रदेशमा सञ्चालनमा रहेका उद्योग र रोजगारका अवसर जोगाउन विद्युत् आपूर्ति सुनिश्चित गर्नु अहिलेको प्राथमिकता हो।
सोनालले संघीय सरकारले प्रदेशका उद्योग, रोजगार र आर्थिक स्थायित्वलाई केन्द्रमा राखेर निर्णय गर्न आग्रह गरे।



Leave a Reply