काठमाडौँ, मिति २०८२।०९।२५ —
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा “सडक दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२” को पूर्वसन्ध्यामा सडक दुर्घटनाका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पहिलो रक्तदान गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।
बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, सशस्त्र प्रहरी, महानगर प्रहरी तथा सर्वसाधारण गरी जम्मा १ सय ३९ जनाले रक्तदान गरेका छन्।
उक्त कार्यक्रमले सडक दुर्घटनामा घाइते भएका पीडितहरूको उपचारमा सहयोग पुग्ने विश्वास काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले व्यक्त गरेको छ।

