१५ भाद्र,बारा : मदन भण्डारी फाउन्डेशन बारा जिल्ला कमिटीले आइतबार कलैयामा आयोजना गरेको ७५औं जन्मजयन्ती समारोहमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले एउटै परिवारका चार छोरीलाई विशेष सम्मान प्रदान गर्नुभएको छ।
बाराको देवताल गाउँपालिका–३ निवासी शम्भु प्रसाद यादवका चारै छोरी विभिन्न तहका सरकारी सेवामा कार्यरत रहेका कारण उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित मध्ये पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह) पदमा कार्यरत छिन् भने कविता यादव र पल्लवी यादव संघीय खरिदार पदमा रहेका छन्। यस्तै, गुन्जा यादव हाल प्राथमिक तहको शिक्षिका पदमा कार्यरत रहेकी छिन्।
कलैयास्थित बरेवा दरबार होटेलको सभा हलमा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले उनीहरूको मेहनत र उपलब्धिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।


