लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो: गृहमन्त्री लेखक

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१६ भाद्र,पर्सा : गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको भन्दै यस विषयमा छिमेकी राष्ट्रहरूले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको स्पष्ट गर्नुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता गरेको प्रसंगलाई स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाउनुभएको आपत्ति नै सही भएको बताउनुभयो ।

“लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो । हामीले हाम्रो भूमि हाम्रो हो भनेका कारण कुनै पनि देशसँग सम्बन्ध बिग्रनुपर्ने अवस्था छैन,” मन्त्री लेखकले भन्नुभयो, “यसमा भारत र चीनले समेत चित्त दुखाउनुपर्ने कुनै आधार छैन । त्यो भूमि हाम्रो हो, यसमा हामी प्रष्ट छौं ।”

प्रधानमन्त्री ओली चीन भ्रमणमा रहेका बेला उहाँले नेपालको भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु उचित भएको स्पष्ट पार्दै गृहमन्त्री लेखकले नेपालको भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने दृढता व्यक्त गर्नुभयो ।

Leave a Comment