१९ भाद्र,बारा: हाल पर्सा सहित तराईका विभिन्न जिल्लामा पानीजन्य रोग तीव्र रूपमा देखिन थालेका छन् । यस क्रममा स्वास्थ्यकर्मीहरूले पखाला (Diarrhoea) र हैजा (Cholera) को सम्भावित फैलावटबारे सतर्क रहन र समयमै उपचार तथा सावधानी अपनाउन आग्रह गरेका छन् ।
स्वास्थ्य अधिकृत डा. शिवेश पाण्डेयका अनुसार हैजा विशेषगरी भिब्रियो कोलेरी नामक जीवाणुको संक्रमणले हुने गम्भीर रोग हो, जुन दूषित खाना वा पानी सेवन गर्दा फैलिन्छ । सामान्य पखालाभन्दा हैजामा बिरामी छिट्टै कमजोर हुने र निर्जलीकरण (Dehydration) को गम्भीर समस्या देखिने भएकाले तत्काल उपचार आवश्यक हुन्छ ।
पखालाका लक्षणहरू:
पटक–पटक दिसा हुने
शरीरमा कमजोरी महसुस हुने
निर्जलीकरण हुने लक्षण देखिने
हैजाका लक्षणहरू:
अत्यधिक पानीजस्तो पातलो पखाला हुने (प्रायः चोखो पानी जस्तो)
अत्यधिक निर्जलीकरण हुने
बारम्बार बान्ता हुने
छिट्टै शरीर कमजोर हुने
डा. पाण्डेयका अनुसार, हैजा भएमा निरन्तर निर्जलीकरण र उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्छ । त्यसैले अस्वच्छ खाना–पानीको सेवन नगर्नु, शुद्ध पानी मात्र पिउनु र सरसफाइमा ध्यान दिनु नै रोग नियन्त्रणको मुख्य उपाय हो ।


