एमालेको समानुपातिक सूचीमा असन्तुलन, २१ जिल्लाबाट कोही परेनन्, झापाबाट मात्रै ९ जना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१७ पुस, काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट कुनै पनि उम्मेदवार नसमेटिएको पाइएको छ। यद्यपि पार्टीको सूचीमा देशका ५६ जिल्लाबाट भने प्रतिनिधित्व समावेश गरिएको छ।

आयोगमा बुझाइएको विवरणअनुसार मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट समानुपातिक सूचीमा कुनै पनि उम्मेदवार परेका छैनन्।

सबैभन्दा धेरै प्रतिनिधित्व झापाबाट देखिएको छ। झापा ठेगाना भएका ९ जना उम्मेदवार एमालेको समानुपातिक सूचीमा समेटिएका छन्। झापाबाट जनजाति तथा महिला क्लस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलामा बिना शाह महतो रहेका छन्।

एमालेले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ ११० जनाको नाम बुझाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक उम्मेदवारका हकमा भने आयोगले दलहरूले बुझाएका बन्दसूचीमाथि कानुनअनुसारको क्लस्टर मिलान छानबिन सुरु गरिसकेको छ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूले बुझाएका सूचीमा कानुनले तोकेको समूहअनुसार प्रतिनिधित्व भए–नभएको परीक्षण भइरहेको छ।

आयोगले पुस २० गतेसम्म अध्ययन पूरा गरी दलहरूलाई सच्याउनुपर्ने बुँदाबारे जानकारी गराउनेछ। त्यसपछि दलहरूले पुस २७ गतेसम्म सूची संशोधन गर्न पाउनेछन्। उम्मेदवारले नाम फिर्ता लिन पुस २८ गते समय पाउने छन् भने अन्तिम बन्दसूची २० माघमा प्रकाशन हुने आयोगको कार्यतालिका छ।

निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने तय गरिएको छ।

Leave a Comment