काठमाडौं-२९ भदौ ।
नेपाली कांग्रेसले हालै देशमा भएका राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै प्रतिनिधिसभा विघटनलाई पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक ठहर गरेको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनमा युवाहरूले ज्यान गुमाउनु र खर्बौं मूल्यको सम्पत्ति नष्ट हुनु दुःखद भएको उल्लेख छ। वहाँले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दै घटनाको छानबिन तत्काल सुरु गर्न सरकारलाई पुनः आग्रह गरेका छन्।
आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्ममा भएको तोडफोड र आगजनी निन्दनीय र भर्त्सनायोग्य भएको विज्ञप्ति उल्लेख गरिएको छ। कांग्रेसले सरकारले वास्तविक क्षतिको आंकलन तत्काल सुरु गर्न माग गरेको छ।
सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई पनि कांग्रेसले अमानवीय भन्दै निन्दा गरेको छ। उनीहरू लगायत घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पार्टीले गरेको छ।
प्रतिनिधिसभा विघटनबारे कांग्रेसले यसलाई संविधान र लोकतन्त्र माथिको कुठाराघात भनेको छ। विज्ञप्तिमा यस कदमले सर्वोच्च अदालतका पूर्ववर्ती फैसलाविपरीत जाने मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राज्य निर्माणको भावना कमजोर हुने चेतावनी दिइएको छ।
कांग्रेसले मुलुकमा उत्पन्न परिस्थितिमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
प्रतिनिधिसभा विघटन असंवैधानिक: नेपाली कांग्रेस
Leave a Comment
Leave a Comment


