अमेरिकी सहायक विदेशमन्त्री कपुरको व्यस्त भेटघाट, परराष्ट्रपछि अर्थमन्त्रीसँग छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर उच्चस्तरीय भेटघाटमा सक्रिय भएका छन्। उनले मंगलबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् भने त्यसलगत्तै अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
कपुर बिहान साढे ९ बजे परराष्ट्र मन्त्रालय पुगेका थिए। त्यसपछि साढे १० बजे अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग भेट गर्ने कार्यतालिका रहेको छ। भेटघाटमा कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि सहभागी छन्।
नेपाल आइपुगेपछि कपुरले विभिन्न भेटघाटलाई तीव्रता दिएका छन्। उनी सोमबार बिहान टर्किस एअरलाइन्सको उडानमार्फत काठमाडौँ अवतरण गरेका थिए। त्यसपछि महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेर औपचारिक भेटघाट सुरु गरेका थिए।
त्यसै दिन अपराह्न उनले ऐतिहासिक पाटन दरबार स्क्वायरको अवलोकन गरेका थिए भने त्यसपछि बूढानीलकण्ठस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवास पुगेर भेट गरेका थिए।
कपुर भोलि बिहान इस्तानबुल हुँदै स्वदेश फर्कने तयारीमा छन्। यसबीच उनले प्रधानमन्त्रीसँग भेट गर्ने या नगर्नेबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

Leave a Comment